मोरङः चलचित्रकर्मीको र्ऊवर भूमि
विराटनगरमा नेपाली चलचित्र मुस्किलले एक साता चल्ने गरेका छन् । यो सहरमा नेपाली चलचित्रको बजार राम्रो मानिँदैन । 'तर आश्चर्य, यही विराटनगरबाटै एक दर्जनभन्दा बढी निर्देशकको प्रादुर्भाव भएको छ,' कलाकार पुष्प श्रेष्ठ भन्छन्- 'राजधानीबाहिर एकै ठाउँमा यति धेरै निर्देशक विराटनगरले नै जन्माएको छ ।' विराटनगरबाट उदाएका निर्देशकहरूमा बद्री अधिकारी, सागर ढुंगेल, विश्व बस्नेत, मोहन निरौला, दीपक आलोक, रेशराज आचार्य, रमेश बुढाथोकी, महेन्द्र बुढाथोकी, माधव सापकोटा, शैलेस आचार्य, उद्धव पौडेल, मुकुन्द श्रेष्ठ, अनिश को इराला, देशभक्त खनाल, विकास आचार्य आदि हुन् ।
यी निर्देशकहरूमध्ये माधव सापकोटाले 'सौभाग्य', सागर ढुंगेलले 'यस्तै हुन्छ पिरती', दीपक आलोकले 'परदेशी', मुकुन्द श्रेष्ठले 'आफ्नो बिरानो' तथा उद्धव पौडेलले 'गोपीकृष्ण' चलचित्रको निर्देशन गरेका छन् । यी निर्देशक त्यसयता सोही विधामा दोहोरिएका छैनन् भने सापको टा र आलोकको निधन भैसकेको छ ।
तत्कालीन विराटनगर नगरपञ्चायतका उपप्रधानपञ्च उद्धव पौडेल निर्देशनमा नदोहोरिए पनि नेपाली चलचित्रको सक्रिय छन् । यसका अतिरिक्त बद्री अधिकारीले 'दुस्मन', 'इन्द्रावती', 'चक्रव्यूह' र 'आवाज' निर्देशन गरिसकेका छन् । जमानाका नायक विश्व बस्नेतले 'नाता', ' अपहरण', 'चलचित्र', 'यस्तै रहेछ जिन्दगी' र 'हिरो'को निर्देशन गरेका छन् । मोहन निरौलाले 'जन्मभूमि' र 'पुकार', देशभक्त खनालले 'पिँजडा', 'चौतारी', 'बाजी', 'लडाइँ' र 'अचानक' तथा महेन्द्र बुढाथोकीले 'संगम', 'त्रिवेणी' र 'मैदान'को कमाण्ड सम्हालिसकेका छन् । रेशराज आचार्य 'तिलहरी', 'मायाको साइनो', 'भाग्यले जुरायो', 'बन्धन', 'माटो बोल्छ', 'सहिदगेट', 'अनमोल', 'आमा', 'टुहुरो', 'धर्मसंकट' तथा 'नगदनारायण' का निर्देशक हुन् । रमेश बुढाथोकीले ठूलो पर्दामा 'जूनतारा', 'मोहनी', 'छोरो', 'अप्सरा', 'जिद्दी', 'फेरि तिम्रो याद आयो', 'मन मेरो मान्दैन', ' बाबु साहेब' एवं 'जीवनमृत्यु' को निर्देशन गरेका छन् । विकास आचार्यले निर्देशकका रूपमा 'नसिव आफ्नो' र 'नाइँ नभन्नु ल' निर्देशन गरे का छन् ।
मोरङ राजघाटका अशोक श्रेष्ठ, बेलबारीका किशोर सुब्बा, कसेनीका जेबी राई र पथरीका बद्री आचार्य पनि चलचित्र निर्देशक हुन् । श्रेष्ठले 'परदेशी कान्छा', 'बहादुर', 'हाम्रो सानो घर होला' र 'जीवनदान'को निर्देशन गरेका छन् भने सुब्बा 'मनै त हो', 'खुकुरी', 'किन दुख्छ यो मन' र भर्खरै प्रदर्शित 'माटो'का निर्देशक हुन् । जेबी राई 'द कमान्डो' र 'नाम के हो ?' तथा बद्री आचार्य 'चिनारी'का निर्देशक हुन् । चलचित्र ' आघात'बाट निर्देशन थालेका अनिश कोइरालाले त्यसपछि 'जाली रुमाल', 'सुपरस्टार' र 'के भो लौन नि' निर्देशन गर्न भ्याएका छन् ।
नायक शिव श्रेष्ठ एवं नायिका रेखा थापा पनि मोरङकै हुन् । जीवनरेखा चलचित्रबाट अभिनय यात्रा सुरु गरेका श्रेष्ठ निर्माणाधीन 'राज' सम्म आइपुग्दा पनि नायककै रूपमा सक्रिय छन् ।
सलकपुरकी रेखा थापालाई छोटो समयमै सफलताको शिखर चुम्न छोटा पहिरनले साथ दिएको अनुमान गर्नेहरू धेरै छन् । हालका व्यस्त नायक/नायिका जीवन लुइँटेल, अर्जुन कार्की र अरुणिमा लम्साल पनि मोरङमै जन्मे-हुर्केका हुन्, जसमा जीवन र अरुणिमा विराटनगरवासी हुन् भने अर्जुन बाहुनी गाविसका हुन् । मोरङका अन्य चलचित्रकर्मीमा विराटनगरका पुष्प श्रेष्ठ, अनुपमा प्रसाईं र केशव भट्टराई तथा उलार् बारीका सानुबाबा सुब्बा छन् । श्रेष्ठले तिलहरी, देउकी, चण्डाल, आफ्नो बिरानोलगायत एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । अनुपमा चलचित्र के भो लौन नि र रणभूमिकी नायिका हुन् । निर्माता समेत रहेका केशव भट्टराईले घरसंसार र पुकारमा नायकको भूमिका निर्वाह गरेका छन् । ऐतिहासिक चलचित्र सीमारेखाबाट देखा परेका सानुबाबा धेरै वर्षपछि आवाज र दशगजा चलचित्रमार्फत् पर्दामा देखिएका छन् । सानो पर्दामा छाएकी विराटनगर निवासी दीपाश्री निरौला पनि विगतमा चलचित्र नायिका नै थिइन् ।
दीपाद्वारा अभिनीत गाउँले, परेली र सुरक्षा दस वर्षअघि नै प्रदर्शनमा आइसकेको छ । मोरङ, सोराभागका दाजुभाइ सुनिल पोखरेल र सुगम पोखरेलको पनि नेपाली चलचित्र क्षेत्रसँग साइनो छ । सुनिल बलिदान र गोधूलिमा अभिनय गरेर अविस्मरणीय बने भने सुगम मेरो एउटा साथी छ र स्वर चलचित्रबाट युवा दर्शकको मन जित्ने संगीतकार भएर चम्किरहेका छन् । गायनमा परिचय बनाएका मोरङ मृगौलियाका श्रीकृष्ण लुइटेल र लेटाङका बाबु बोगटीले पनि चलचित्र कलाकार हुने रुचि देखाएका छन् । 'बाटोमुनिको फूल'बाट बाबु नायकका रूपमा छाए भने श्रीकृष्णले हिम्मतका साथै एउटा अर्को हास्यचलचित्रमा काम गरेका छन् ।
निर्मातातर्फ विराटनगरका राजेश कोइराला, भगवान थापा, राजेन्द्र थापा, सुशील धनावत र उर्लाबारीका बाला गुरुङ प्रमुख छन् । मान सरोबर ब्यानरसँग सम्बद्ध कोइरालाले एकल लगानीमा 'उपकार', 'कुरुक्षेत्र' आदि चलचित्र निर्माण गरे भने थापाद्वय चलचित्र 'आफ्नो बिरानो' का निर्माता हुन् । विराटनगरका उद्योगपति धनावत 'सौभाग्य' चलचित्रका निर्माता हुन् । प्रायः सबै चलचित्रमा राजेश हमाल र निरुता सिंहलाई दोहोर्याउने बाला गुरुङले हालसम्म 'दुःख', 'आमाको आर्शीवाद', 'दुई पल', तथा 'डर' निर्माण गरेका छन् ।
प्राविधिकतर्फ छायाँकार डिक खड्का र निर्माण नियन्त्रकको परिचय बनाएका मिलन सुवेदी मोरङ केराबारीका हुन् । खड्काले चलचित्र मजबुरको निर्माण गरेका छन् भने सुवेदी इतिहास चलचित्रका निर्माता हुन् । चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष शैलेश आचार्य विराटनगरका बासिन्दा हुन् भने बोर्डका पूर्वसदस्य तथा मानसरोवर फिल्म्स प्रालिका संस्थापक मुकुन्द ढुंगाना उर्लाबारीका स्थायी बासिन्दा हुन् ।

0 comments